समाचार

शैक्षिक सुधार गर्दै भ्याली पब्लिक : विभिन्न संस्थासँग समझदारी पत्रमा हस्ताक्षर


काठमाडौँ — काठमाडौँँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–८ मा अवस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले काठमाडौँ विश्वविद्यालय लगायतका संस्थासँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । शैक्षिक सुधारको चाहनालाई गम्भिरताका साथ आत्मसात गर्दै उक्त विद्यालयले विभिन्न संघसंस्थाहरूसँग शैक्षिक गतिविधिमा सहकार्य गर्ने सम्झौता गरेको हो ।

विद्यालयले दिएको जानकारीअनुसार इन्स्पायर एजुकेशन फाउण्डेसनसँग शिक्षक तालिम, विषयगत तालिम, अभिभावकत्व सत्र, विद्यालय प्रणाली, स्रोत सामग्री निर्माण स्वर संकेत तथा उच्चारण गरी ४८ वटा भौतिक सत्र र ४८ वटा विद्युतीय सत्र सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

त्यस्तै आईएसओसँग शैक्षिक गुणस्तर विश्लेषण, तालिम, पत्रचार तथा कागजात तयारी कार्यक्रम प्रयोजन तथा प्रमाणीकरण प्रक्रिया सञ्चालन हुनेछन् । विद्यालयले काठमाडौँ विश्वविद्यलयसँग ३ कार्यभारसहितको शिक्षक पेशागत विकास योजनामा काम गर्ने सम्झौता भएको छ । त्यस्तै, पुस्तकालय विकास कोषसँग विद्यालयको पुस्तकालयमा करिब एक लाख साठी हजार संख्यामा भौतिक तथा विद्युतीय माध्यमका पुस्तकहरूको उपलब्धता गराई विद्यार्थीको पढ्ने, खोजी गर्ने, बुझ्ने र विश्लेषण गर्ने जस्ता सीपको विकास गर्ने अभिप्राय राखी निरन्तर काम गर्ने सम्झौता भएको छ ।

उक्त संस्थाहरूसँगको साझेदारीले त्याहाँका विद्यार्थी विश्वको कुनै पनि मुलुलकमा प्रतिस्पर्धामा आफूलाई उभ्याउन सक्ने विद्यालयले विश्वास लिएको छ । विद्यालयले पाठ्यक्रममा आधारित, उन्नतीशिल तथा सर्वाङ्गीण शिक्षा विकासको आधारमा शैक्षिक गतिविधिलाई अनुशरण गर्ने जानकारी दिएको छ ।

उक्त विद्यालय २०५० सालमा स्थापना भएको थियो । हाल उक्त विद्यालय आफ्नै १५ रोपनीमा निर्माण गरिएको शैक्षिक पूर्वाधारसहितको भवनमा सञ्चालित छ ।