काठमाडौँ — नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य जगन्नाथ थपलियाले चितवन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका छन् ।
एमाले क्षेत्रीय समन्वय कमिटीको भेलामा नेता पाण्डे र थपलियाले आकांक्षा राखेर नाम दर्ता गराएको नेकपा एमाले चितवनले जनाएको छ ।
पाण्डे सो क्षेत्रबाट अहिले पनि सांसद रहेका छन् । वाम गठवन्धनकातर्फबाट २०७४ सालमा सांसद जितेका पाण्डे तेस्रो कार्यकालका लागि सांसद बन्ने इच्छा जाहेर गरेका हुन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा यहीँ क्षेत्रबाट संविधानसभा सदस्य जितेका थिए ।
नेकपा एमाले पूर्व जिल्ला अध्यक्ष थपलियाले पहिलोपटक संघीय सांसद हुने भन्दै आकांक्षा राखेर नाम दर्ता गराएको हुन् । उनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार भएर काम गरेका थिए ।
क्षेत्रीय समन्वय कमिटीले आवेदकको नाम जिल्लामार्फत प्रदेशमा पठाउने छ । समानुपातिक सदस्यका लागि भने भदौ २० गते पार्टीको जिल्ला कार्यालयमा आवेदन दिन सकिने जनाइएको छ ।


प्रतिक्रिया