Breaking

काँग्रेसको अडानले भागबण्डामा किचलो, गगनले प्रचण्ड–माधवलाई झस्काए, नहेप्न माधवको चेतावनी


काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनलाई प्रतिनिधिसभातर्फका १ सय ६५ सिटको भागबन्डा गर्न सकस परेपछि सहमति भएको छैन । संघकै भागबण्डामा दलहरु असफल बनेपछि प्रदेशको बाँडफाँडमा झनै अन्योलता देखिएको छ । बिहिबार बालुवाटारमा झण्डै १२ घण्टा नै भागशान्ति गर्न खोजेपनि गठबन्धनका नेताहरुबीच सहमति हुन सकेन । बिहान ११ देखि रातिको अबेर १० बजेसम्म रस्साकस्सी गरेका पाँच दलले अन्ततः असहमतिमै छलफल टुंग्याएपछि सहमति नजिक रहेको भन्दै निस्किए ।किनकि गठबन्धनबीच भाग लगाउनुपर्ने मात्र १६५ सिट छ ।

तर दलहरुको दाबी अनुसारकै सिट संख्या बनाए १६५ बाट बढाएर २ सय ३४ बढी पु¥याउनु पर्ने हुन्छ । नेपाली काँग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादीले ३२ सिट दाबी गरेको छ । गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले बाग्लुङ र प्यूठानमा दुई सिट नपाए गठबन्धन गर्नुको अर्थ नहुने दाबी गरेको छ ।अब दलहरुको दाबी पुरा हुन कि गठबन्धन भत्काएर एक्लै चुनावमा जाने ताकत देखाउनुपर्नेछ ।नत्र यीनै दलहरुको भागशान्ति मिलाउन संविधान नै संसोधन गरेर प्रतिनिधिसभाको सिट संख्या बढाउने गम्भीर त्रुटी सम्भवत नगर्लान् ।

सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एक्लैले एकसय सिट दाबी गर्दा माओवादी र समाजवादीसहितका अन्य दल झस्किएका छन् । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सकभर शक्ति सन्तुलन मिलाएरै जाने तयारीमा रहेपनि इतरपक्षको नेतृत्व गरेको शेखर समूहले अडान नछोड्न दबाब दिइरहेको छ । बिहिबारको बैठकमा समेत महामन्त्री गगन थापाले एक सय काँग्रेसलाई दिनुपर्ने अडान लिएपछि अरु दल भड्किएका थिए ।

तर मौन रहेका देउवा पर्ख र हेरमै देखिएका छन् । यद्यपी ९० सम्म भएपनि सहमति गर्न सकिने रामचन्द्र पौडेलसहितका केही नेताको बटमलाइन छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसले ५० प्रतिशत राखेर बाँकी अन्य दललाई दिनुपर्ने प्रस्ताव गरेका थिए । यसो गर्दा बढीमा ८३ सिट अन्य दलले पाउनेछन् ।तर प्रचण्डको प्रस्तावमा समेत अन्य दल तयार देखिएका छैनन् ।तथापी शुक्रबार बिहानै सुर्खेत पुगेर प्रचण्डले प्रदेश र क्षेत्र सबै टुंग्याउने गरि सहमति गर्न थालेको दाबी गरेका छन् ।

काँग्रेसलाई ५० प्रतिशत दिनेप्रचण्डको प्रस्तावमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत सहमत छैनन् ।उनले ७० सीटमै काँग्रेसलाई रोकेर बाँकी अन्य दलले पाउनुपर्ने अडान लिएका छन् । केहीदिनअघिमात्रै आफु भ¥याङमात्र नबन्ने दाबी गरेका उनले काँग्रेसलाई अंहम नदेखाउन चेतावनीसमेत दिएका थिए ।तर कसले कति पाउने भन्दा पनि काँग्रेसले कसलाई कति दिने भन्ने विषयमै भागबण्डा रोकिएको छ ।

भागबण्डाका लागि बनाएको मापदण्ड अनुसार पनि दलहरु चलेका छैनन् । संघकै भागबण्डामा माथापच्ची मच्चाइरहेका दलहरु प्रदेशको ३३० सिट बाँडफाँड गर्नझनै अलमल परेका छन् ।फलतः सहमति नजिक भनिएको भागबण्डा झन पेचिलो बन्दै गएको छ ।