Breaking

नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउनु राष्ट्रपतिको अपमान गर्नु हो : वामदेव गौतम


काठमाडौँ — राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु राष्ट्रपतिको अपमान हुने बताएका छन् । राष्ट्रियसभा बैठकमा नागरिकता विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै गौतमले राष्ट्रपतिले बुँदागत रुपमा उठाएका विषयलाई सम्बोधन गरेरमात्र विधेयक अघि बढाउनुपर्ने तर्क गरे । उनले प्रतिनिधिसभाले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिको अपमान गरेको जिकिर गर्दै राष्ट्रियसभाले सो विधेयकलाई विधायन समितिमा पठाउँदा आफू खुसी भएको बताए ।

तर विधायन समितिले पनि राष्ट्रपतिबाट उठाइएका विषयलाई सम्बोधन नगरेको उनको गुनासो थियो । विधायन समितिमा विधेयक गयो, राष्ट्रपतिले सन्देशमा उठाएका हरेक बुँदाको जवाफ समितिले दिने अपेक्षा गरेको थिएँ, उनले प्रश्न गरे, ती सन्देश नसुनी, विश्लेषण नगरी पठाउन खोजिएको छ । विधायन समितिले हरेक बुँदाका बारेमा धारणा बनाउन सक्दैनथ्यो । राष्ट्रपतिले सन्देशमा उठाएका कुनै पनि बुँदा बेठिक नरहेको उनले बताए ।