काठमाडौँ — नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज आजबाट सुरू भएको छ । केन्या एकदिवसीय मान्यताप्राप्त टिम नभएकाले अभ्यासको रुपमा रहेको खेलमा पहिले ब्याटिङ गरेको केन्या ४८.१ ओभरमा २१८ रनमा अलआउट भयो । केन्याका लागि राखेप पटेलले ६७ रन र कोलिन ओबुयाले ६२ रनको योगदान गरे । बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिन सफल भए ।
२१९ रनको लक्ष्य पाएको नेपालले केही बेरमा ब्याटिङ गर्दैछ । नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि खेलमा कप्तानी रोहितकुमार पौडेलले गरे । सिरिजको दोस्रो खेल भोलि शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।यसअघि नेपाल र केन्याबीच पाँच खेलको टी-२० सिरिज भएको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भएको थियो । तर टी-२० वरीयतामा नेपालभन्दा तल रहेको केन्यासँग दुई खेलमा पराजित हुँदा नेपालको वरीयता खस्किएर १६औं स्थानमा पुगेको थियो।
प्रतिक्रिया