खेलकुद

काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा


काठमाडौँ — नेपाल फुटबल संघ एन्फाले भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । एन्फाले पत्रकार सम्मेलन गरेर सबै तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता आयोजनाका लागि ३ करोड, ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि दक्षिण एसियाली फुटबल फेडेरेसनले २ लाख ५० हजार डलर प्रदान गरेको छ ।

बाँकी रकम एन्फाले आफ्नो श्रोतबाट जुटाउने साफ आयोजक समितिका संयोजकसमेत रहेका एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । प्रतियोगिताको समूह एमा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, पाकिस्तान, वंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन् । बाँकी टिम आइतबारसम्म नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।