काठमाडौँ — नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा भने उपाधि उचाल्ने लक्ष्य लिएको छ । दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुँदैछ ।
त्यसका लागि भुटान र पाकिस्तानी टोली नेपाल आईपुगेका छन् भने केही टोली आउने तालिका नजिकिँदै छ । नेपाली टोली भने घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा उपाधि उचाल्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ । प्रतियोगिता शुरु हुन अब एक हप्ता मात्र बाँकी छ । साफ प्रतियोगिताका लागि अन्तिम टोलीको नाम पनि सार्वजनिक भइसकेको छ । नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना चोटका कारण बाहिरिन पुगेका छन् भने रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् । नेपाली टोलीलाई नियमित प्रशिक्षण गराइरहेका प्रशिक्षक कुमार थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताएका छन ।
साफले सार्वजनिक गरिसकेको समूह अन्तर्गत साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह ए मा रहेका छन् भने आयोजक नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका र भुटान अटाएका छन् । यस संस्करण पाकिस्तान पनि समावेश भएको छ । अघिल्लो संस्करणमा प्रतिवन्धका कारण सहभागि हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैले अपेक्षा राखेका छन् । टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् । घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी राम्रो भइरहेको र उपाधि जित्नेमा नेपाली महिला खेलाडि पनि विश्वस्त देखिन्छन् ।
महिला साफको १२ वर्षे इतिहासमा नेपाल पटकपटक फाइनल प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । महिला साफका पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । पाँचै पटक भारतले उपाधि जितेको छ । सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेको थिएन । नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको पाँचांै संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । त्यस संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो ।
प्रतिक्रिया