काठमाडौँ – सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला भएको छ ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन आजबाट गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीहरूका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक व्यक्तिले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
आर्थिक वर्ष २०७७र७८ को वास्तविक वित्तीय विवरणानुसार कम्पनीको सञ्चित नाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । उक्त वित्तीय विवरणानुसार प्रतिसेयर आम्दानी ९३ रुपैयाँ ९१ पैसा छ । प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ छ ।
कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३०२ देखि ९०६ रुपैयाँसम्म मूल्य रेन्ज पाउने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कुनै पनि कम्पनीलाई धितोपत्र दोस्रो बजारमा कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।
यो कम्पनीको रजिस्टर्ड कार्यालय सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वामा छ । हाल कम्पनीले १० जिल्लामा ३३ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । हाल कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । आईपीओ जारी गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया