Breaking

सामाजिक सञ्जालमा चरित्र हत्या गरिएको भन्दै कानुनी कारबाहीमा जाने सासंद बस्नेतको चेतावनी


काठमाडौँ — नेकपा एमालेका सासंद महेश बस्नेतले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरिएको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन् । सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडियो भाइरल भइरहेको छ ।

बस्नेतले उक्त भिडियोमा आफू नभएको र गत स्थानीय चुनावका क्रममा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै अमान सिंह तामाङ र सापकोटा पक्षका कार्यकर्ताबीच भएको विवाद रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

माओवादी केन्द्रका केही व्यक्तिहरूले महेश बस्नेतलाई कुटपिट गरेको भन्दै गरेको झुटो प्रचार गरेको भन्दै उनले आपत्ति पनि जनाएका छन् । उनले लेखेका छन्( ‘सामाजिक सञ्जालको दुरूपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरूलाई कानुनी कारबाही गर्नेछौं। तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु ।’