काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्ने भएका छन्। उनीहरूको विवाह भोलि बुधबार काठमाडौंमा हुन लागेको हो । यसअघि सोमबार मेहेन्दी कार्यक्रम भएको छ । यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए । माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए ।
उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए । त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए । कञ्चन पेशाले एयरहोस्टेस हुन् । केही वर्षदेखि प्रेममा रहेका उनीहरूको भदौ १५ मा विवाह गर्न लागेका हुन् । विवाह प्रस्ताव राखेपछि किरण र कञ्चनले दुई साता माल्दिभ्समा बिदा मनाएका थिए । उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोमा बिदामा दुवैका आमा पनि साथमा रहेको देखिएको थियो ।
असार तेस्रो साता सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ुधिवेदी प्रिमियर लिगु मा उत्कृष्ट गोलकिपर घोषित भएको एक सातामै उनी भारतको आइलिग क्लब पञ्जाब एफसीमा आबद्ध भएका थिए । किरणले गत सिजन पनि भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए। गत सिजन आइ लिगमा पनि उनले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले गत वर्ष एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए ।
यसअघि सन् २०१८ मा पनि किरण माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए । किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले । त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया