Breaking

सल्यानमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते


काठमाडौँ — सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।

दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरीले जनाएको छ । अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा१ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर-१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।