Breaking

डेंगु संक्रमित बढे


काठमाडौँ — काठमाडौं उपत्यकामा डेंगु संक्रमित बढेसँगै अस्पतालमा शय्या बेड अभाव हुन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष डेंगु संक्रमितले भरिएको छ । आकस्मिक कक्षको सबै बेड भरिएपछि बिरामीलाई कुर्सीमा समेत राखेर उपचार गरिएको छ । एक हप्तायता डेंगुका बिरामीले बेड भरिन थालेको अस्पतालका आकस्मिक कक्षका प्रमुख लीलामणि भण्डारीले बताए । ‘डेंगुका बिरामीले बेड भरिएपछि कुर्सीमा समेत राखेर उपचार गराइरहेका छौं । भण्डारीले भने, बेडको अभाव हुन थालेपछि घरमै आराम गर्न सक्नेलाई सल्लाह–सुझाव दिएर पठाएका छौं ।

डेंगुको लक्षण लिएर आएका बिरामीको चाप बढ्सँगै अस्पतालले सोमबारदेखि डेंगु क्लिनिक सञ्चालनमा ल्याएको छ । टेकु अस्पतालको आकस्मिक कक्षमा शुक्रबार ६८, शनिबार ८५, आइतबार ८० जना बिरामीको उपचार गरिएको थियो । त्यसैगरी, सोमबार २ बजेसम्म ५० जनाभन्दा बढी बिरामीले आकस्मिक कक्षमा उपचार गराएका छन् ।

‘हामीसँग थोरै बेड छन् । डेंगुका गम्भीर प्रकृतिका बिरामीलाई मात्रै जनरल वार्डमा भर्ना गरेर राख्छौं’, आकस्मिक कक्षका प्रमुख भण्डारीले भने, ‘आकस्मिक कक्षको चाप घटाउनका लागि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याएका हौं । अस्पताल प्रशासनको तथ्यांक अनुसार हाल ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । टेकुमा मात्रै होइन, उपत्यकाको अधिंकाश अस्पतालमा डेंगु संक्रमितको चाप बढ्दो क्रममा छ । काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको पर्किङस्थलमा टेन्ट लगाएर बिरामीको उपचार र परीक्षण भइरहेको छ ।

दैनिक सय जना भन्दा बढी डेंगुको आशंकामा परीक्षणका लागि आउने गरेको टेकु अस्पतालका रिसर्च युनिटका प्रमुख डा। शेरबहादुर पुनले बताए । ‘डेंगुको आशंकामा आएका ८० प्रतिशतभन्दा बढीलाई डेंगु पुष्टि भएको छ । अस्पतालमा भर्नाको चाप कम गर्न बिहान १० देखि २ बजेसम्म डेंगु क्निकल सञ्चालनमा ल्याएका हौं डा . पुनले भने । उनका अनुसार काठमाडौंको टेकु, त्रिपुरेश्वर, कंलकी, बल्खु, बसन्तपुर, शंखमुल, नयाँ बानेश्वरलगायतका क्षेत्रबाट आउने बिरामी बढी छन् । डेंगु अप्रत्यासित रूपमा बढिरहेको छ । बिरामीको चाप बढेको देख्दा बेड पाउन मुश्किल हुने देखिएको छ । डा . पुनले भने, ‘सकेसम्म गम्भीर प्रकृतिका बिरामीलाई मात्रै भर्ना गरेका छौं ।