काठमाडौँ — विकेन्द्रीकरणको सिद्धान्तलाई स्वीकार गरी मुलुक संघीयतामा गएको करिब सात वर्ष भएको छ । यो सात वर्षमा नै स्वायत्त संरचना र कानून निर्माणको अधिकारप्राप्त प्रदेश संरचना आवश्यक नरहेको बहस सुरु भएको छ । प्रदेश नै चाहिन्न भन्नेहरूलाई गतिलो जवाफ दिने गरी बागमती प्रदेश खेलकुद परिषदले भने वास्तविक संघीयताको अभ्यास गरिरहेको छ ।
खेलकुदमा संघीय ऐन जारी हुनुभन्दा अगाडि नै २०७५ सालमा ऐन पास गरी एक वर्षमै नियमावलीसहित कार्यान्वयन प्रक्रिया अगाडि बढाएको बागमती प्रदेशले खेलकुदको दीर्घकालीन विकास र लोकप्रिय कार्यलाई एकसाथ अगाडि बढाइरहेको छ । देशको राजधानी प्रदेश बागमतीले पञ्चायत व्यवस्थामा बागमती अञ्चल र त्यसपछि मध्यामाञ्चल विकास क्षेत्रका रुपमा राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै आएको थियो । २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको सुरुवाती ४ संस्करणमा बागमतीको बर्चश्व थियो ।
१६ खेल समावेश गरिएको पहिलो राष्ट्रिय खेलकुद काठमाडौंमा च्याम्पियन बनेको बागमती अञ्चलले ४४ स्वर्णसहित १ सय २ पदक जितेको थियो । १९ खेल समावेश गरिएको दोस्रो संस्करण पोखरामा बागमती ५० स्वर्ण, ३३ रजत र २५ कांस्य गरी १०८ पदकसहित च्याम्पियन बन्यो । २१ खेल समावेश भएको तेस्रो राष्ट्रिय खेलकुद वीरगञ्जमा ६६ स्वर्ण, ३५ रजत र ३७ कांस्य गरी १३८ पदकसहित च्याम्पियन भयो । १२ खेल समावेश गरिएको चौथो राष्ट्रिय खेलकुद नेपालगञ्जमा मध्यमाञ्चल विकास क्षेत्रले ४९ स्वर्ण, ३१ रजत र ३२ कांस्य गरी ११२ पदक जितेर पहिलो भएको थियो ।
प्रतिक्रिया