काठमाडौँ – अहिले (आइतबार बिहान) देशैभर मौसम बदली भई धेरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशका धेरैजसो स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको हो । काठमाडौँ उपत्यकामा पनि २ घण्टादेखि वर्षा भइरहेको जानकारी उनले दिइन् । ‘यो क्रम अझै केही समय रहन्छ’, उनले भनिन् ।
दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।
‘सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन् । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसरा राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।


प्रतिक्रिया