काठमाडौँ — पाँच दलीय गठबन्धनको सरकारमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरिरहेका चार जना मन्त्रीहरु समानुपातिकतर्फ सांसद हुन नपाउने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिस गर्दा ०७४ का समानुपातिक सांसदहरुलाई दोहोर्याउन मातहतका कार्यसमितिलाई बन्देज लगाएका कारण उनीहरु समानुपातिक सांसद बन्न नपाउने भएका हुन्।
महामन्त्री गगन थापाले मातहतलाई परिपत्र गरेर २०७४ सालको निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएका नेताहरुको नाम समानुपातिकतर्फको उम्मेदवारका रुपमा सिफारिस नगर्न भनेका छन्। उनले पार्टीको विधानमा गरिएको व्यवस्थालाई टेकेर हाल समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा रहेका नेताको नाम फेरि समानुपातिककै लागि सिफारिस नगर्न परिपत्र गरेका हुन्।
महामन्त्री थापाले भदौ ९ गते ७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई उम्मेदवार सिफारिस सम्बन्धमा परिपत्र गरेका छन्। ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिको नाम पार्टी विधानको धारा ३३ ९२० बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसधा सदस्य र प्रदेशसभा सदस्य पदको समानुपातिकतर्फको उम्मेदवारका लागि सिमाफरि नगर्ने,’ परिपत्रमा भनिएको छ।
पार्टी विधानको धारा ३३ ९२० मा भनिएको छ, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा वा प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन। परिपत्रअनुसार मातहतका कार्यसमितिले समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्ने भएकाले मन्त्रिपरिषद्मा रहेका नेताहरु बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, उमा रेग्मी र उमेश श्रेष्ठ फेरि समानुपातिकतर्फको उम्मेदवार बन्न नपाउने भएका छन्।


प्रतिक्रिया