Breaking

तस्करीको विवादमा केकी र आर्यन, सिआईबीको अनुसन्धान जारी, पर्यटन बोर्डमा भएको किर्ते पत्र के हो त ?


काठमाडौँ — फिल्म सुटिङको बहानामा १४ जना व्यक्तिलाई नर्वे पु¥याउन भारतस्थित नर्वेजियन दूतावासमा किर्ते कागजात पेस गरिएको खुलेपछि चलचित्र क्षेत्रमा अहिले हलचल मच्चिएको छ । नेपाल पर्यटन बोर्डका तर्फबाट पेस गरिएको किर्ते सिफारिसमा नाम चलेका दुई कलाकार अभिनेत्री केकी अधिकारी र अभिनेता हरिश (आर्यन) सिग्देल मुछिएकाछन् । भिसा माग गरिएको पत्रमा पहिलो नम्बरमा केकी र दोस्रो नम्बरमा आर्यनको नामसहित पासपोर्ट नम्बर पनि हालिएको छ । दूतावासमा ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र निर्माण कम्पनीमार्फत ‘तिम्रो नजर’ फिल्मको सुटिङका लागि भनेर भिसा माग गरिएको छ ।

उनिहरुसहित क्रमैसँग अन्य १४ जनाको नाम छ । सिने क्षेत्रमा परिचित यी दुई अनुहार बाहेक अरु नाम बिरलै सुनिएको होला । केकी र आर्यनपछि तेस्रो नम्वरमा दिपक प्रसाद आचार्य, चौथोमा रोशन पराजुली, पाँचौमा विक्रम बस्नेत, छैटौमा रिता सापकोटा खनाल र सातौमा माजोहित अन्सारीको नाम छ त्यस्तै आठौमा दीपेन भुजेल, नौ नम्बरमा सरोज गुरुङ दश नम्बरमा भक्तबहादुर रानामगर र एघार नम्बरमा टेसबहादुर रन्टिजा तथा बाह« तेह« र चौध नम्बरमा क्रमैसँग राजु गुरुङ, लक्ष्मण आचार्य र मीनराज गुरुङको नाम छ । भिसा माग आवेदनमा केकीलाई फिल्मको प्रमुख महिला कलाकार तथा आर्यनलाई प्रमुख पुरुष कलाकारका रूपमा चिनाइएको छ ।त्यस्तै, निर्देशकका रूपमा दीपकप्रसाद आचार्य र निर्माताका रुपमा रोशन पराजुलीको नाम छ ।

निर्माताका रुपमा रहेका पराजुलीकै कम्पनीमार्फत फिल्म निर्माणका लागि भिसा अप्लाई भएको देखिन्छ । तर फिल्म सुटिङको बहानामा कुनै व्यक्ति वा गिरोहले केकी र आर्यनको नाम भजाएर भिसा पक्रियालाई सहज बनाउन किर्ते कागजात पेश गरेर मानव तस्करी गर्न लागेको आशंका गरिएको छ । अझ आश्चर्य जनक कुरा त घटनामा संलग्न गिरोहले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिईओ धनञ्जय रेग्मीको हस्ताक्षर समेत किर्ते गरेको छ । पर्यटन बोर्डको लेटरहेड र छापको दुरुपयोग गरेर १४ जनाको भिषा माग गरिएको पत्रमा सिईओ रेग्मीको नाम समेत पुरा लेखिएको छैन ।रेग्मीको नामको अगाडि डाक्टरपनि छ तर गिरोहले धनन्जय रेग्मी लेखेर तोडमोडगरी हस्ताक्षर गरेको देखिन्छ ।

आफ्नो योजना मुताविक अघि वढी रहेको गिरोहको भेद त्यति बेला खुल्यो जतिबेला भारतस्थित नर्वेजियन दूतावासबाट पर्यटन बोर्डमा बुधबार एउटा इमेल आयो । जसमा भनिएको थियो ‘नेपालबाट फिल्म सुटिङका लागि भनेर १४ जनाको भिसा माग गरिएको छ ।भिसा दिनका लागि पर्यटन बोर्डले सिफारिस गरेको पत्र पनि आएको छ । यो साँचो हो कि झुटो । यो आसयको इमेल प्राप्त भएपछि झस्किएका पर्यटन बोर्डका कर्मचारीले त्यस पछि पत्र घोत्लिएर हेर्न थाले , एकपछि अर्को त्रुटि र पत्रको छेउटुप्पै नमिलेपछि बोर्डको नाममा कुनै गिरोहले कागजपत्र दुरुपयोग गरेको निष्कर्षमा पर्यटन बोर्ड पुग्यो । बोर्डले अहिले कार्यालयको लेडर हेडदेखि सिईओको हस्ताक्षर समेत किर्ते भएको विषयमा आवश्यक अनुसंन्धानका लागि सिआइबी गुहारेको छ ।

चोर जतिनै चलाख भएपनि केही न केही सबुत छोड्छ भने जस्तै पर्यटन बोर्डको कागजात किर्ते गर्ने व्यक्ति वा गिरोहको आधा दर्जनभन्दा बढि त्रुटि भेटिएको छ । सायद त्यहि भएरनै होला नर्वेजियन दुत्तावासले पनि आंशका गरेरै क्रस चेकको लागि पर्यटन बोर्डमा पत्र पठायो । अवैध गतिविधि गरेको गिरोहले दुतावासमा पठाएको पर्यटनबोर्डको लेडरहेड चार वर्ष पुरानो हो । जुन अहिले प्रयोगमा छैन ।
बोर्डले अहिले नयाँ लेटर हेड प्रयोग गरिरहेको छ । पहिलो नम्बरमा यहि चुकेको यो गिरोहले पत्रमा चलानी नम्बर २०७८÷०७९÷३०९ हालेको छ । जबकी त्यो समयमा पर्यटनबोर्ड बाट ४० भन्दा बढी चिठ्ठीपत्र चलानी भएको छैन । किर्ते पत्रमा लेखिएको भाषाको व्यहोरामासमेत अनगिन्ती त्रुटी छ। चलानी नम्बर मिति, सम्बोधन गरिने भाषाको किसिम र प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर किर्तेको विषयमा अहिले सिआइबीले अनुसंन्धान सुरु गरेको छ ।

कलाको आवरणमा यो हदसम्मको गैरकानुनी कार्य हुनु निन्दनीय छ । कलाकार राष्ट्रका गहना हुन् । यदि उनिहरु सुटिङकै लागि जान चाहन्थे भने सायद किर्ते कागजातको आवश्यकता पर्दैन थियो होला । यसले पनि नाम चलेका कलाकारलाई देखाएर नेपालबाट मानव तस्करी गर्न लागेको अड्कल बाजीमा थप बल पुगेको छ ।कलाकारको भेषमा नेपाल बाट नर्बे छिर्ने र उतै भासिनका लागि कुनै अमुख व्यक्तिको डिजाइनमै यो हदसम्मको काम भएको आशंका गरिएको छ । यो विषय अनुसंन्धानकै पाटोमा रहेकाले सत्यतथ्य बाहिर आउला, तर कलाकार भयौं भन्दैमा त्यसको फाइदा उठाएर कसैले मोटो रकम कुम्ल्याउने प्रपञ्च रचेको छ भने हदैसम्मको कार्वाही हुन जरुरी छ । यदि कलाको आवरणमा यो हदसम्मको गतिविधिमा कोही आवद्ध छन् भने भगवान रुपी दर्शक,स्रोता र देशमाथिको राष्ट्रघात हो ।