Breaking

प्रधानमन्त्री देउवाले उद्घाटन गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा बुटवलमा निर्मित सबैभन्दा ठूलो क्षमताको बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा उत्रिएका देउवाले उद्घाटनसंगै सम्मेलन केन्द्रको अवलोकन गरेका थिए । बुटवल मण्डपमा निर्मित सभाहल र प्रर्दशनी स्थललाई सहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।

यो सभाहल सञ्चालनमा आएसँगै जाडो होस या चर्को गर्मी तथा वर्षाको बीचमा खुल्ला आकासमुनी सभा सम्मेलन तथा विभिन्न कार्यक्रम गर्नुपर्ने बाध्यता हट्ने छ । बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरमा सम्मेलन केन्द्र निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो। ठेक्का सम्झौता गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि नाकाबन्दी र भूकम्पका कारण ढिलो गरी थालिएको सम्मेलन केन्द्रको काम कोरोना महामारीका कारण केही समय प्रभावित बन्यो ।

यद्यपि ढिलै भए पनि निर्माणको काम पूरा भएको छ। साना ठूला गरी एउटै छानोमुनि दुई हजार सात सय जना क्षमताका सनाठूला १३ वटा हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौं भन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो । बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ। सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र निर्माण भइरहेको छ । निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र सञ्चालनको लागि कार्यविधि नबन्दा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अन्योलता छ । कार्यविधि नबन्दासम्म सम्मेलन केन्द्र हस्तान्तरण गर्न समेत नमिल्ने भएकाले सञ्चालन हुन समय लाग्ने देखिन्छ ।

सम्मेलन केन्द्र सञ्चालनमा वाषिर्क ३ करोड बढी खर्च आउने आयोजना प्रमुख पन्थीले बताए । निकै ठूलो खर्च रहेकाले दिगो सञ्चालन कसरी गर्न सकिन्छ भनेर उपयुक्त कार्यविधि बनाउने क्रममा रहेको उनले बताए । सकेसम्म निजी क्षेत्रलाई मात्रै नदिएर सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालन गर्ने गरी संघ, प्रदेश र स्थानीय तहका सरकारबीच सञ्चालन मोडालिटीबारे छलफल भइरहेको आयोजना प्रमुख पन्थीले बताए । बुटवल प्रदेशको राजधानी हुने अनुमानका साथ सम्मेलन केन्द्र बनाइए पनि स्थायी राजधानी दाङको भालुुवाङ तोकिएकाले सम्मेलन केन्द्र सञ्चालनमा चुनौती हुुनसक्ने देखिएको छ ।