काठमाडौँ — सशस्त्र प्रहरी बलले ब्यारेकहरुमा सञ्चालित मेसहरुमा एलपी ग्याँस हटाएर विद्युतीय चुलो इन्डक्सन प्रयोग गर्ने भएको छ । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय चुलो इन्डक्सन प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले एमओयूमा हस्ताक्षर गरे । सशस्त्र प्रहरीका ब्यारेकहरुमा सञ्चालित मेसहरुमा भइरहेको एलपी ग्याँसको प्रयोगलाई विस्थापित गर्न क्रमिक रुपमा इन्डक्सन चुलो प्रयोग गरिने छ ।
प्राधिकरणले इन्डक्सन चुलो प्रयोगका लागि विद्युत पोलहरु थप गर्ने, ठूला क्षमताका ट्रान्सफर्मर राख्नेलगायतका आवश्यक भौतिक पूर्वाधारहरु बनाइदिने छ । कार्यक्रममा महानिरीक्षक अर्यालले देशभर उपस्थित सशस्त्र प्रहरीको जनशत्तिलाई मेस व्यवस्थापन गर्दा ठूलो परिमाणमा ग्याँस प्रयोग भइरहेकोले यसको सट्टामा विद्युतीय चुलो प्रयोग गर्न पाउनुलाई ठूलो अवसरको रुपमा लिइएको बताए ।
स्वदेशमै उत्पादन भएको विद्युतमार्फत इन्डक्सन चुलो प्रयोगबाट एकातर्फ आन्तरिक ऊर्जा खपत बढ्छ भने अर्कोतर्फ इन्धन आयात कम गर्न सकिन्छ उनले भने, यसबाट इन्धन आयातमा भइरहेको विदेशी मुद्राको खर्चले सिर्जना गरेको सोधानान्तर घाटालाई कम भई राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्छ । विद्युतीय चुलोको प्रयोगबाट संगठनलाई मात्र नभई देशलाई नै फाइदा पुग्ने अर्यालले उल्लेख गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सशस्त्र प्रहरीको मेशमा विद्युतीय चुलोको प्रयोग गरिनु आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण कदम भएको बताए ।


प्रतिक्रिया