काठमाडौँ — राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिकाले बताएको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो । कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले जानकारी दिए ।
विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्माण गरेको थियो । नक्सा पास नभई भवन बनाए पनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको वेटिङ रुम बनाएको छ । बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । र, बेसमेन्ट खाली गराइरहेको छ ।
‘यसअघि पनि मेयरसा’बले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनु भएको थियो, महानगरका एक अधिकारीले भने,तर विभागले सेवाग्राहीको भिडको कारण देखाएर मानेको थिएन । विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन(२०७४ अनुसार कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन । हाम्रो रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड भेटिएन, महानगरका एक अधिकारीले भने,’उहाहरुसँग नक्सा पास भएको प्रमाण भए पेश गर्न भन्छौं ।


प्रतिक्रिया