Breaking

नागरिकता विधेयकमा चर्कियो द्वन्द्व, राष्ट्रपतिको तयारीले गठबन्धन सशंकित (भिडियोसहित)

एमाले भन्छ : राजीनामा आउँछ


काठमाडौँ – नागरिकता विधेयकमाथि सरकार र राष्ट्रप्रमुखबीच टकराव चलिरहेका बेला राष्ट्रपतिको राजीनामा चर्चाले गठबन्धन तरंगित बनेको छ । गठबन्धनले राष्ट्रपतिका पछिल्ला गतिविधिमाथि शंका गरेको छ भने, राजनीतिक दलले समेत चुनावी नापतौलको विषय बनाइरहेका छन् ।

नागरिकता विधेयक रोक्नकै लागि राष्ट्रपतिले राजीनामा दिने विषय सतहमा आएकै बेला सत्ता गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनिष्टको संकेत गरे । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भइरहेका पछिल्ला गतिविधिले सत्तागठबन्धनभित्र आतंक मच्चिएपछि माधव नेपालले अनिष्टको संकेत गरेका हुन् । र नागरिकता विधेयकमाथि देखाएको चासोलाई समेत उनले अनावश्यक भनेका छन् ।

संसदबाट नागरिकता विधेयक पारित हुँदै गर्दा राष्ट्रपतिले सम्पादकसँग परामर्श गर्दै यसमा गम्भीर अध्ययन गर्ने जनाउ दिएकी थिइन् । त्यसको केही दिनमा विधेयक पारित भएर शीतलनिवास पुग्यो । झण्डै १३ दिनसम्म अध्ययन गरेकी उनले गम्भीर १५ बुँदे सन्देशसहित विधेयक पुनर्विचारका लागि संसदमै फर्काइदिइन् । त्यसलाई टकरावकै विषय बनाएको सत्ता गठबन्धनले पुनः हुबहु पारित गरिदिएपछि राष्ट्रपति र सरकारधारीको टकरावले ठाउँ पाएको हो ।