देश

कांग्रेस क्षेत्रीय सभापति विनोद बस्नेतमाथि हातपात


काठमाडौँ — नेपाली कांग्रेस मोरङ क्षेत्र -४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् । मंसीर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको सामानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दै पुगेका राजु थापाले हातपात गरेका हुन् ।

स्थानीय तहको चुनावमा आफूलाई टिकट नदिएको भन्दै असन्तुष्ट बनेका उनले समानुपातिक सूचीमा आफ्नो नाम राख्न भनेपछि बस्नेतले प्रदेश निर्वाचन क्षेत्रबाट प्रक्रिया पुर्‍याएर सिफारिस आउनुपर्ने बताए । सोही विषयमा विवाद बढ्दै जादा थापा र बस्नेतबीच हात(हालाहालको अवस्था सृजना भएको घटनास्थलमा कांग्रेसका एक कार्यकर्ताले बताए ।

‘उनी मेरो भाइ हुन्, तर डोमिनेशन गरेर बोले,’ थापाले भने, ‘त्यसपछि हात हालाहाल भयो, अरुले छुट्याए ।’ उनले आफूले क्षेत्र नम्बर ४ को ख बाट समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दा बस्नेतले नमानेको बताए ।