समाचार

बनेपामा ९ किलो खपटासहित ३ जना पक्राउ


काठमाडौँ – बनेपामा प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा) सहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैध रूपमा ओसारपसार भइरहेको खपटासहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार खपटासहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका-७ का २५ वर्षीय विमान स्याङ्तानलाई पक्राउ गरिएको हो ।

तीनैजनालाई बनेपा नगरपालिका-६ को २८ किलोस्थित स्वागत क्याफेमा खपटा खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई म्याद थप गरी आज जिल्ला वन कार्यालय बुझाइने न्यौपानेले जानकारी दिए ।