Breaking

नख्खु कारागारबाट कैदी भागेको घटना छानबिन गर्न समिति गठन


काठमाडौँ — नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगन्ज) मा उपचारका लागि लगिएका कैदी फरार भएको घटना अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार उपचारका क्रममा अस्पताल लगेको रामेछापको पिल्पुङग गाउँपालिका–२ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका हुन् ।

उक्त घटना अध्ययन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा थिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाई कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । घटनाबारे आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।