Breaking

राष्ट्रपतिद्वारा बोलाइन् शीतलनिवासमा आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारी


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा भेटका लागि बोलाएकी छन् । बुधबार शीतलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन । भेटमा शीतलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरु पनि सहभागी थिए । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।

राष्ट्रिय अनुसन्धानमा विभागको एउटा टोली पनि राष्ट्रपति कार्यालयमा खटिन्छ भने बाहिरी सुरक्षामा नेपाल प्रहरीले एकजना प्रहरी निरीक्षक इन्स्पेक्टरको सुरक्षामा टोली खटाउने गर्छ । राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट छन् । पछिल्लो समय उनले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गरिरहेकी छन् । संविधानविद्हरुसँगको छलफलमा पनि उनले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गरेकी थिइन् ।