काठमाडौँ — नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको बताएका छन् । मंगलबार स्थायी कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नुहुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पारेका छन्। उनले एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला रहेको बताए ।
उनले देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरुसँग गठबन्धन गर्न तयार रहेको बताए । कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने उनको भनाई छ । स्थायी कमिटी बैठकले केन्द्रिय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयहरुको अनुमोदन गरेको बताए । त्यस्तै, पछिल्लो समय अन्य पार्टीहरुबाट नेकपा एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई मातहतका कमिटीहरुमा व्यवस्थापन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
बैठकले कुलभक्त शाक्य, डिबि नेपाली र नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषद्मा मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै, जीवन गौतम, वृजेश गुप्ता, धर्म देवकोटा र अमृत राजवंशीलाई केन्द्रिय कमिटी सदस्यमा मनोनयन गरेको छ । बैठकले ५२ हजार ५५० जनाको पार्टी सदस्यता दोहोरिएकाले सो सदस्यताको व्यवस्थापनका लागि संगठन विभागलाई जिम्मेवारी तोकेको छ ।


प्रतिक्रिया