राजनीति

महाभियोग सिफारिस समितिको बैठक बस्दै


काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ ।

समितिको बैठक आज दिउँसो २ बजे बस्ने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्नेछ ।

साथै समितिको सभापति चयन गर्नेछ । जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले ज्येष्ठ सदस्य रामबहादुर विष्टसहित २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिनिधिसभाबाट २२ साउनमा महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको १ भदौमा बसेको पहिलो बैठकमा कार्यविधिको मस्यौदा र कार्यतालिकामा छलफल भएको थियो ।

प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग लागेसँगै जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन् ।