काठमाडौँ — पाँच ट्वान्टी–२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमवार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ । हालै राष्ट्रिय टिमको प्रशिक्षण संहालेका मनोज प्रभाकरका लागि यो भ्रमणले विशेष अर्थ राख्नेछ । नेपाली खेलकुदको सर्वाधिक सफल खेल क्रिकेट पछिल्लो समय खस्कदो क्रममा छ । त्यही खस्कदो क्रिकेटलाई माथि उकास्ने आशका साथ नेपाली क्रिकेट टोली सोमबार अपरान्ह ४ बजे केन्या भ्रमणमा निस्किएको छ ।
पहिलो पटक नेपाली टोली सम्हालिरहेका प्रशिक्षक मनोज प्रभाकरका लागि पनि यो भ्रमण विशेष रहने छ । असामान्य समयमा टोली सम्हालेका उनलाई चुनौतिका साथै आफूलाई प्रमाणित गर्ने राम्रो अवसर पनि रहेको छ । खेलाडीहरु सक्षम र टोलीको तयारी पनि राम्रो भएकाले नतीजा आफ्नो पक्षमा हुने प्रशिक्षकको विश्वास छ ।
क्षमतावान् युवा र पाँच महिनापछि राष्ट्रिय टोलीमा फर्किएका अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको उपस्थितिले टोली सन्तुलित बनेको छ । यसअघिको खेलहरु अनुभवका कारण गुमाएको आरोप लाग्दै आएको टोलीमा पूर्वकप्तानको पुनरागमनले पनि टोलीमा उत्साह भरेको छ । प्रशिक्षक प्रभाकरको प्रशिक्षणमा नयाँ कुरा सिक्न पाएकोले आफूहरुको प्रदर्शन उच्च हुने कप्तानको प्रतिक्रिया छ ।
५ खेलको ट्वान्टी–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म आयोजना हुने तालिका रहेको छ । दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका हुन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् ।
राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् । केन्या भ्रमणपछि नेपाली टोलीले नामिबियामा आयोजना हुन विश्व क्रिकेट लिग डिभिजन–२ का लागि जानेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित प्रतियोगिताका लागि केन्या भ्रमण युवा टोली र नयाँ प्रशिक्षकका लागि अर्थपूर्ण तरिकाले हेरिएको छ ।
प्रतिक्रिया