देश

दुबईबाट काठमाडौं आएका भारतीय नागरिकको पेटबाट प्रहरीले निकाल्यो १ किलो सुन


काठमाडौँ — संयुक्त अरब ईमिरेट्स यूएईको दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट प्रहरीले १ किलो सुन बरामद गरेको छ। अर्धठोस सुनको डल्ला बनाएर मुखबाट निलेर पेटमा रहेको सुनसहित प्रहरीले भारतीय नागरिक ३१ वर्षीय राहुन रेमानानलाई पक्राउ गरेको हो।

राहदानी नम्बर भी ११२२८९० वाहक रेमानान शनिबार बिहान फ्लाइ दुबईको उडानमार्फत् दुबईबाट काठमाडौं ओर्लिएका थिए। विमानस्थलको आगमन कक्षको एक्सरे मेसिनमा चेकजाँच गर्दा उनको पेट शंकास्पद देखिएपछि प्रहरीले काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गराएको थियो।

एक्सरे गर्दा पेटमा ठोस पदार्थ रहेको भेटिएपछि प्रहरी बृत्त गौशालामा लगेर सौच गराउँदा मलद्वारबाट बेलनाकार देखिने अर्धठोस सुनको ४ वटा डल्ला फेला परेको प्रहरीले जानकारी दिएको छ। सुनसहित पक्राउ परेका रेमानानको सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।