Breaking

वीपीका सहयात्री प्रदीप गिरि : युवादेखि वृद्धसम्म, प्राज्ञिकदेखि श्रमिकसम्म सबैका प्रिय पत्र

अध्ययनमा अद्भुत, विचारमा विलक्षण र प्रस्तुतिमा प्रस्ट गिरि


काठमाडौँ – सिरहाको बस्तीपुरमा २००२ सालमा जन्मिएका गिरी सानैदेखि अति तीक्ष्ण बुद्धिका थिए । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी गिरि कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत हुन् । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै गिरीले बीपीको संगत गरेका थिए ।

२०५१ सालमा पहिलोपटक सांसद् बनेका गिरि २०५६ को निर्वाचनमा पराजित भएका थिए । २०६४ र २०७० को संविधानसभामा समानुपातिक सभासदका रूपमा संविधान लेख्ने कार्यमा उनी सक्रिय भएका थिए । त्यसपछि उनले २०७४ मा प्रत्यक्ष निर्वाचन जितेका थिए ।

पटक–पटक सांसद बने पनिगिरिले मन्त्रीका लागि इच्छा कहिल्यै देखाएनन् । २०६३÷६३ को जनआन्दोलनपछि मन्त्री बन्ने पाए पनि गिरिले अस्वीकार गरेका थिए । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरिका लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

बौद्धिक नेताको छवि बनाएका गिरिलाई अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूले पनि उत्तिकै सम्मान गर्छन ।गिरिले समाजशास्त्रको अध्ययन गरे, माक्र्सवाद आत्मसात् गरे । नेपालका थुप्रै माक्र्सवादीलाई गिरिले माक्र्सवाद पढाएका छन् । अध्ययनमा अद्भुत, विचारमा विलक्षण र प्रस्तुतिमा प्रस्ट गिरीले जिन्दगीभर अग्रजभन्दा युवालाई हेरे । सत्ता, समाज र व्यवस्था मात्र होइन, दलभित्र पनि निरन्तर प्रतिपक्षी आवाज बन्न गिरिले युवालाई ऊर्जा भरिरहे । त्यसैले उनी युवादेखि वृद्धसम्म, प्राज्ञिकदेखि श्रमिकसम्म सबैका प्रिय बन्न सफल भएका छन् ।

गिरिले नेपाली समाज किन पछाडि प¥यो भनेर किशोरावस्थादेखि नै प्रश्नहरू सोध्थे । त्यसको उत्तर नेपाली समाजमै कतै छ कि भनेर उनले जिन्दगीभर खोजिरहे । जीवनको अन्त्यसम्म पनि गिरिले नेपाली समाजको समस्या र चासोबारे प्रश्न गरिरहे । शासकहरूलाई समस्या समाधानका मन्त्रहरू सिकाइरहे ।सम्पन्न परिवारमा जन्मिएका गिरिले निकै सरल र साधा जीवन बाँचे । गिरीले बस्तीपुरको पुख्र्यौली सम्पत्ति मित्र सेवा आश्रमका नाउँमा अर्पण गरेका छन् ।

राजनीतिक संघर्षकै क्रममा २०४२ सालको सत्याग्रहसहित पटक–पटक गरेर गिरिले करिब ४ वर्ष जेल जीवन बिताएका थिए । गान्धीको शान्ति र अहिंसाको मार्ग अनुसरण गर्ने गिरिले जीवनभर अन्याय, अत्याचार र हिंसाको विरोध गरिरहे । पिछडिएको क्षेत्र, पिछडा वर्ग र अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन नसक्दा लोकतान्त्रिक गणतन्त्र कमजोर हुने विचार निरन्तर प्रवाह गरिरहने गिरि नेपाली राजनीतिमा निकै अग्ला कदका नेता थिए ।