काठमाडौँ — काठमाडौँमा चुनाव जित्ने प्रमुख हतियार हो फोहोर । फोहोरको समस्या समाधान गर्ने एजेण्डासहित निर्वाचन जितेका नेताहरु समस्या समाधानमा भने निरिह बन्ने गरेका छन् । स्थानीय तहको चुनावमा प्रत्येक दल मात्रै नभई स्वतन्त्रका उम्मेद्वारले पनि फोहोरलाई नै प्रमुख मुद्धा बनाए । मुख्य एजेण्डा फोहोरलाई बनायो भने चुनाव जितिन्छ भन्ने आँकलनसहित चुनावी प्रतिष्पर्धामा उत्रिए पनि ।
त्यही आँकडा अनुसार भिजनसहित फोहोरको समाधान गर्ने योजना बनाएको मेयर बालेन्द्र साहले आजका दिनसम्म जन अपेक्षा अनुसार काम गर्न भने सकेका छैन । सबैले बुझ्ने भाषामा भन्ने हो भने उनका ती सबै योजनाहरु असफल भएका छन् । फोहोरको विषय लिएर उनी राजनीतिक दलका शीर्ष नेतादेखि देशकै कार्यकारी प्रधानमन्त्रीसँग बारम्बार सहयोगको आग्रह गर्दै आएका छन् । मेयरको दैनिकी फोहोरमा नै रुमल्लिएको छ । त्यसका बाबजूद पनि यो समस्या भने समाधान हुन सकेको छैन ।
माधवकुमार नेपाल, ईश्वर पोखरेल, गगन थापा, प्रकाशमान सिंह जस्ता शीर्ष नेतृत्वहरु बारम्बार काठमाडौँबाटै निर्वाचित भएर सांसद बने । फोहोरमा राजनीति भयो भन्दै गर्दा बारम्बार राजधानीकै सांसद बनेका यिनीहरुले फोहोरलाई दीर्घकालिन समाधान दिन सकेका छैनन् ।
नेकपा एमालेका नेता विद्यासुन्दर शाक्य काठमाडौँको मेयर हुँदा फोहोरको डंगुर नदेख्ने युवा संघ यतिबेला चोक चोकमा पुगेर राजनीतिक मुद्धाकै लागिसडक सफाइको नाटक मञ्चन गरिरहेको छ । यता सदनभित्र पनि एमालेका नेताहरु फोहोर नउठेकोमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । यसले पनि फोहोरमा राजनीति चलेको प्रक्ष्ट हुन्छ ।
केन्द्रीय सरकार,प्रदेश सरकारदेखि शीर्ष नेतृत्वहरुले फोहोरलाई राजनीतिक मुद्धा मात्रै बनाउँदै आए । अब फेरि पनि निर्वाचन नजिकिएकोले दल र नेताहरुले यो विषयलाई चुनावी एजेण्डा बनाउने निश्चित छ ।७७ वटै जिल्लाका २७५ सांसदको बसोबास रहेको काठमाडौँ शहरको फोहोर सबैको साझा समस्या हुनुपर्ने हो । तर, उनीहरु खिचातानीमानै अल्झिरहेका छन् । समाधानका लागि नेतृत्वमा हुँदा पहल नगर्ने र एकले अर्कालाई आरोप मात्रै लगाउने प्रवृद्धिले फोहोरको समस्या जहाँको त्यही छ ।


प्रतिक्रिया