Breaking

नाम चलेका युवामा कसले पाउँलान् टिकट ?विश्वप्रकाशकै अनिश्चित,काँग्रेस–माओवादीका युवा नेता संकटमा


काठमाडौँ — संसदीय निर्वाचन नजिकिएसँगै अधिकांश नेताहरुले उम्मेदवारी घोषणाको तयारी गरेका छन् भने गठबन्धन भागबण्डाको रस्साकस्सीमा छ । राजनीतिक दलमा आवद्ध भएका दजनौं नेताहरु पहिलोपटक निर्वाचन लड्ने तयारीमा छन् ।

तर पार्टीको शीर्ष नेतृत्वले उनीहरुलाई पत्याउने सम्भावना निकै कम रहेको छ । वर्षाै पार्टी कब्जा गर्दै बसेका प्रौढ नेताहरुसँग चर्काे आवाज बनाएर सिटको दाबी गर्ने हिम्मत नेपाली राजनीतिक दलभित्रका युवाहरुसँग छैन । अनि युवा भएकै कारण शिर्ष नेतृत्वले टिकट दिन पनि चाहँदैन । फलतः यसपटकको संसदीय निर्वाचनमा समेत युवाले स्थानपाउने सम्भावना निकै थोरै छ ।

नेपाली काँग्रेसभित्र करिब दुई दर्जन युवापंक्ति यसपटक प्रतिनिधिसभा प्रवेशका लागि गृहकार्य गरिरहेको छन् ।उनीहरु केन्द्रीय राजनीतिमै सक्रिय रहेर चर्चामा रहेका नेताहरु हुन् ।पार्टी महाधिवेशनमा देउवाविरुद्ध सभापति लडेका कल्याण गुरुङदेखि नैनसिंह महर, गोविन्द भट्टराई, रन्जित कर्ण, राजिब ढंगाना र जीतजंग बस्नेतहरु निर्वाचनमार्फत संसदीय राजनीतिमा डेब्यु गर्दैछन् ।

तर विगतमा धनराज गुरुङ, गुरुराज घिमिरे रजगदिश नरसिंह केसीहरुले टिकट नपाएको विषयले उनीहरुलाई झस्को दिइरहेको छ । विगतमा टिकट पाएर पनि पराजित भएका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश निर्वाचन हारेका प्रदीप पौडेलले समेत यसपटक टिकटका लागि निकै संघर्ष गर्नुपर्ने भएको छ ।किनकि अहिले सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच १६५ सिटका लागि भागबण्डा हुँदैछ ।

त्यसमा नेपाली काँग्रेसले पाउने बढीमा ८० सिट होला । जहाँ रामचन्द्र पौडेल, कृष्ण सिटौला र सभापति देउवाजस्ता बुढाखाडाहरु नै पहिलो प्राथमिकतामा पर्नेछन् । विगतमा पार्टी एक्लै चुनावमा जाँदा पनि टिकट नपाएर आक्रोशित बनेका युवाहरुलाई यसपटकको निर्वाचनले शान्त राख्ने छैन ।

संघर्ष काँग्रेसभित्रमात्रै छैन,सत्ता गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्रभित्र पनि युवाको स्थान निकै असुरक्षित छ ।प्रचण्डकै स्वकीय सचिव रमेश मल्लदेखि, लेखनाथ न्यौपाने, हिमाल शर्मा र रामदीप आचार्य दीपशिखासहितका दर्जन बढी नाम चलेका नेताहरुले यही निर्वाचनमा लड्ने तयारी गरेका छन् ।

रञ्जित तामाङले झापा–५ बाट एमाले अध्यक्ष ओलीविरुद्धै उम्मेदवारी दिने तयारी गरेका छन् । विगतको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले पहिलो दल बनेको थियो । माओवादीसँग गठबन्धन गरेकैकारण धेरै युवाहरु अवसरबाट बञ्चित भए ।यसपटक ओलीसँग नजिक रहेका सूर्य थापादेखि विष्णु रिजालसम्म टिकट हत्याउने दाउमा छन् ।

विगतमै टिकट नपाएर रोइकराइ गरेको ठाकुर गैह्र्रेसमेत यसपटक बाजी मार्ने तयारीमा छन् । चलेका युवा अनुहार माधव ढुंगेलदेखि ऐन महर, नविना लामा र निरज आचार्यजस्ता दर्जनबढी नेताहरु यसपटक नै संसद प्रवेशको तयारीमा छन् ।

त्यसमध्ये लामा अहिलेको समानुपातिक सांसद हुन् भने अरुले डेब्यू गर्न खोजिरहेका छन् । अन्य दलभन्दा एमालेका युवाहरुलाई अलि सहज देखिएको छ । पाँचदलीय गठबन्धनविरुद्ध एक्लै चुनावमा जाने तयारी गरिरहेका बेला १६५ मध्ये युवाको सहभागिता सन्तोषजनक नै हुने नेताहरुको भनाइ छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपासहितका दलहरु गठबन्धनमै आवद्ध छन् । भागबण्डाको दौरानमा उनीहरुको सहभागिता निकै न्यून रहनेछ । यसर्थ युवाले टिकट पाउने सम्भावना उही काँग्रेस र माओवादीकै जस्तो अफ्ठ्यारो छ ।

यी दलहरुबाट सहजै टिकट नपाए युवाहरुले निर्वाचन लड्न कि स्वतन्त्र उम्मेदवारी दिनुपर्नेछ, कि नयाँ दलतिर लाग्नुपर्ने अवस्था आउने छ । नत्र नेतृत्वकै गुणगान गाएर झोला बोक्नु र बस्नुभन्दा अर्काे विकल्प हुनेछैन ।