Breaking

माछा मार्ने क्रममा करेन्ट लागेर बाबुछोराको मृत्यु, आमा घाइते


काठमाडौँ – शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् ।

बिहीबार विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । करेन्ट लागेर तीनै जना घाइते भएका थिए । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही अस्पतालमा दिलमायाको उपचार भइरहेको छ ।