समाचार

कुलुङ शेर्वी किदुकद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान


काठमाडौँ — कुलुङ शेर्वी किदुकले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरेको छ । संस्थाको ११औं वार्षिक साधारण सभाको अवसरमा सरकारी विद्यालयबाट एसईईमा उत्कृष्ट नम्बर ल्याउने ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

सबै भन्दा धेरै नम्बर ल्याउने सोलुखुम्बु महाकुलुङ गाउँपालिका- १ खिरौलेका ङिमादिकी शेर्पालाई ५० हजार राशीको स्व. आङ बाबु शेर्पा स्मृति विद्या छात्रवृत्ति प्रदान गरिएको छ ।

दोस्रो धेरै नम्बर ल्याउने माप्यदुधकोशी गाउँपालिका-७ की सोनी शेर्पालाई ३० हजार राशीको स्व. ङातेम्बा शेर्पा स्मृति विद्या छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, तेस्रो नम्बरमा रहेकी माप्यदुधकोशी गाउँपालिका-७ पेमा याङडी शेर्पालाई २० हजार राशी रहेको स्व. फूर्तेन्जी शेर्पा स्मृति विद्या छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रम समाजमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

११औं वार्षिक साधारण सभाले ङिमा नुर्बु शेर्पाको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष शेर्पाले संस्था स्थापना भएको २१वर्षको अवधीमा गाउँको भाषा, संस्कृति र परम्परालाई जोगाउन तथा युवा पुस्तालाई थप जिम्मेवार बनाउन भूमिका खेलेको बताउनुभयो ।

कुलुङ शेर्वी किदुक २०५८ सालमा स्थापनाभएको हो । पेसा, व्यवसायवा अध्ययनका लागि सोलुखुम्बुको महाकुलुङ, सोताङ गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाबाट काठमाडौँमा बसोवास गरिरहेका शेर्पा समुदायलाई एकत्रृत गर्ने र एक अर्कामा सहयोग गर्ने पवित्र भावना लिएर संस्था स्थापना गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

संस्थाको संस्थापक सदस्य, आजिवन सदस्य, केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न ११औं वार्षिक साधारणसभाबाट संस्थाको कार्यप्रगति प्रतिवेदन, कोष प्रतिवेदन साथै संस्थाको आगामी योजनाहरू सर्वसम्मत पारित गरेको छ । सोही अवसरमा किदुकलाई सहयोग गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

शेर्पा जातिको भाषा, धर्म, भेषभुषा, संस्कृति आदिको संरक्षण र विकासको निम्ति विभिन्न कार्यक्रमहरू सन्चालन साथै संस्थाको सदस्यहरूको लागि औषधी उपचार तथा दुर्घटना बीमाको पहलगर्ने, विभिन्न अस्पतालहरू सँगको सहकार्यमा किदुकको सदस्यहरूलाई औषधी उपचारमा विशेष छुटको व्यवस्था मिलाउन पहलगर्नेदेखि संस्थाको रजत जयन्ती मनाउने सम्मको योजनाहरु ‘नीति तथा कार्यक्रमहरू’मा प्रस्तुत गरिएको थियो ।