समाचार

२ वर्षमा बन्ने सोलुखुम्बुको स्वास्थ्य कार्यालय भवन ९ वर्षसम्म अलपत्र


काठमाडौँ — सम्झौता भएको ९ बितेको भए पनि जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको निर्माणाधीन भवन अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाही र नियमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको हो ।

वि.स. २०७१ साल माघ २० गते २ वर्षमा निर्माण सक्ने गरी सम्झौँ ता भएको भवन निर्माणको काम अहिलेसम्म पनि पूरा हुन नसक्दा निर्माणाधीन भवनमा प्रयोग गरिएका काठहरू कुहिएर काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले २०७५ सालको असार मसान्तसम भवन निर्माणका काम सक्ने बताउँदै आएको भए पनि त्यो वचन अहिलेसम्म पूरा भएको छैन ।

२ करोड ३८ लाख ३ हजार ५३ रुपैयाँ ३२ पैसाको लागतमा निर्माणको जिम्मा लिएको भवनको अहिले करिब ८० प्रतिशत कार्य सम्पन्न भएको बताइको छ । तर, २० प्रतिशत कार्य सम्पन्न नहुँदा भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बन्न थालिसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीको भनाइ छ ।

अहिले पनि भवन अलपत्र अवस्थामै रहेको उनले गुनासो गरे । आफूले फोन गर्दा युवराज डाँगीले फोन नउठाउने गरेको गुनासो गर्दै अहिले आफूहरूले वार्षिक ५ लाख भाडा तिरिरहेको बताए ।

भाडाको भवनमा बस्दा सुरक्षाका हिसाबले पनि जोखिम बढी रहेको भन्दै घरबेटी पनि सोहि घरमा बस्ने भएकाले असहजता महशुस हुने उनको भनाइ छ । यस विषयमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएको भए पनि त्यसको कुनै पनि जवाफ नआएको उनको भनाइ छ ।