काठमाडौँ — रौतहटको वडहर्वा स्थित वागमती नदीमा १२ वर्षदेखि पुलको निर्माण नसक्दा स्थानीयवासी मारमा परेका छन् । समयमा पुल नबन्दा करिव ४ सय भन्दा बढी घरधुरीका परिवार नदिमा जोखिम मोलेरै दैनीक काठको डुंगामा यात्रा गर्न बाध्य छन । रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वास्थित वागमती नदीमा स्थानीयहरुलाई वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो ।
तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि सो पुल निर्माण हुन सकेको छैन । ठेकेदारको कम्पनीको लापरबाहीले वागमती पारीका वडहर्वावासीलाई गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ । यस्तै वागमती पारी बसोवास गर्ने करिव ४ सय भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन् ।
स्थानीयहरु दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरुमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था छ । स्थानीयवासी बिरामी हुँदासमेत डुंगामार्फत नदी पार गरेर उपचार गर्न जानुपर्ने बाध्यता छ । अझ नदीमा बाढी आएमा पारी जानसमेत कठिनाई हुने गरेको छ ।
वागमती नदी पारी रौतहटको वतसपुर, बडहर्वा, राजदेवी , गौर लगायत स्थानका मानिसहरु डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन् । वागमती पारीका स्थानियलाई वारी आउन दुईवटा डुंगाको यात्रा गर्नुपर्छ । वर्षा याममा वागमती नदीमा बाढी आउँदा स्थानियहरुको आवत जावत नै ठप्प हुने गरेको छडुंगा चालक रामबाबु रजक बताउछन्। डुंगा चढ्न सर्वसाधरणले एकपटकको ५० रुपैयाँ सम्म तिर्नुपर्ने बाध्यता छ ।
यता हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताउँछन । उनले डेढ वर्षको अवधिमा वागमति नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने दाबी गरेका छन ।
वागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा पक्की पुलको शिलान्यास भएको थियो । प्रधानमन्त्रीबाट पक्की पुल निर्माणको लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुशी भएका थिए । तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयहरु रुष्ट भएका छन् । वागमती नदीको उक्त पुल निमार्ण सम्पन्न भएमा रौतहट र सर्लाहीका बासिन्दा समेत प्रत्यक्ष लाभावन्वित हुन्छन् ।
वागमती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रा.लि. सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनिले पाएपनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियोे । पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । स्पान निर्माणको काम सकिएपनि बाँकी काम भने शुरु भएको ९ वर्षभन्दा बढी भइसकेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्ध गरेपछि पुनः आह्वान गरेको ठेक्का माहालक्ष्मी विकास वाइपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निमार्ण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा सम्झौता गरेको छ । कार्यालयले नयाँ ठेक्का लगाएपनि काम भने शुरु हुन सकेको छैन ।


प्रतिक्रिया