Breaking

प्रहरी परिचालन गरेर फोहोर ब्यवस्थापन गर्नु हाम्रो उद्देश्य होइन : मेयर बालेन


काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रहरी परिचालन गरेर बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर ढुवानी गर्ने आफूहरूको उद्देश्य नभएको बताएका छन् ।

निरन्तर फोहोर विसर्जन कार्यमा अवरोध हुँदा प्रहरी परिचालन गर्न बाध्य भएको उनको भनाइ छ ।

गएको जेठ २६ गते काठमाडौँ महानगरपालिका, धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै मेयर बालेनले तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक वर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको बताए ।

प्रहरी प्रशासनको सहयोग लिएर हिजो १८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको थियो । सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायत मागहरू पूरा हुनुपर्ने बताउँदै केही स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् ।