Breaking

एन्फाको अपरिपक्व निर्णय, निकट भविष्यमा समस्या पर्न सक्ने


काठमाडौँ — लामो समयदेखि स्थगित भइरहेको एन्फा कार्यसमितिको दोस्रो बैठकले विभिन्न १९ वटा निर्णय त गर्यो । तर ती निर्णयले दीर्घकालिन रुपमा एन्फा आफै समस्यामा पर्ने देखिन्छ । साउन २६ गते बसेको एन्फा कार्यसमितिको बैठकले विभिन्न शीर्षकमा १९ वटा निर्णय पारित गर्याे । नेपालमा हुने फुटबल गतिविधिदेखि विवादित बन्दै आएको पद नियुक्ती तथा विशेष साधारण सभाको मिति तय गर्दा सबैभन्दा पेचिलो र चासोको विषय बनेको प्रशिक्षक बारे भने कुनै ठोस निर्णय गर्न सकेन ।

प्रशिक्षकको सन्दर्भमा ठोस निर्णय नलिए पनि एन्फाले नियुक्त गरेको कार्यवाहक प्रशिक्षकको विषयले भने थप समस्या खडा हुने देखिन्छ । हाल नेपाली फुटबलको मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरी स्वास्थ्यावस्थाका कारण विदामा छन् । त्यसैलाई कारण देखाउदै अखिल नेपाल फुटबल संघ(एन्फा) ले असोज ११ मा हुने तय भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईलाई नियुक्त गरेको छ । एन्फाको यो निर्णयले प्रश्न गर्नेलाई मलजल पुगेको छ ।

नेपालको आधिकारीक प्रशिक्षक अहिले पनि अल्मुताईरी नै हुन् । बंगलादेशविरुद्धको खेलका लागि अल्मुताइरीले टिम छानिसकेको समाचार बाहिर आएको स्थितिमा हुमागाईंको नियुक्तिले अल्मुताईरीको अनुपस्थितिमा सहायक प्रशिक्षकमाथि पनि अन्याय भएको बुझिन्छ । एन्फाले भने बमोजिम नै अल्मुताईरीको स्वास्थ्यका कारण टिम हेर्न नसक्ने अवस्थामा हो भने फुटबलको नियम अनुसार सबैभन्दा पहिलो प्राथमिकतामा सहायक प्रशिक्षक किरण श्रेष्ठ हुनुपर्ने हो । तर, एन्फाले विश्व फुटबलको प्रक्रियालाई बेवास्ता गर्दै हुमागाईलाई नियुक्ति दिइसकेको छ ।

त्यसो त अल्मुताईरी आफू सम्झौता अवधिभर नेपालमा नै बस्ने संकेत पनि गरिसकेका छन् । आवश्यक परेको खण्डमा आफू फिफा र एएफसीसम्म जान सक्ने चेतावनी पनि दिएका उनले एन्फाको राम्रैसँग प्रतिवाद गर्ने संकेत गरेका छन् । यी सब घटनाक्रमले एन्फा र अल्मुताईरीबीच फेरि पनि नयाँ टसल सुरु हुने सम्भावना देखिन्छ ।

एन्फाले कार्यसमितिको आफ्नो दोस्रो बैठक सम्पन्न गर्दा अहिलेको मुख्य समस्या बन्दै गएको खेलाडी पलायनको विषय एजेण्डामा नै राख्न सकेन । आन्तरिक समस्यामा नै रुल्मलिको एन्फाले गरेको निर्णय पनि अपरिपक्व देखिन्छ । एन्फाको निर्णयले विद्यमान समस्यालाई तत्कालका लागि टारे पनि भविष्यमा भने यसले थप समस्या सिर्जना गर्ने देखिन्छ । एन्फाको अपरिपक्व निर्णयले निकट दिनमा एन्फा आफै आलोचित हुने शंका पैदा भएको छ ।