देश

निर्वाचनका लागि सरकारले केन्द्रीय कमान्ड पोस्ट गठन गर्ने


काठमाडौँ — आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सरकारले केन्द्रीय कमान्ड पोस्ट गठन गरेको छ। सोमबार बिहान गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न गर्न मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट बनाएको हो। त्यस्तै गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय बैठकले गरेको छ। पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाइने भएको छ।

त्यस्तै प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। यस्तै प्रदेश स्तरमा कमान्ड पोस्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमान्ड पोस्ट तथा जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएको छ।