Breaking

काठमाडौंका अधिकांश सडक किनार र फुटपाथमा फोहोरको थुप्रो


काठमाडौँ — सडकभरि फोहोर थुप्रिँदा पैदलयात्रा गर्नसमेत सकस हुने गरेको छ  । काठमाडौंमा झन्डै चार हजार मेट्रिक टन फोहोर सडकमै छ । दुई हजार मेट्रिक टन कन्टेनरमा ‘होल्ड’ भएको छ । सहज अवस्था हुँदा महानगरले दैनिक दुई सय ट्रिप फोहोर विसर्जन गर्दै आइरहेको थियो । तर, पछिल्लो समय स्थानीयको अवरोधका कारण फोहोर व्यवस्थापन सकस बनेको छ  ।

नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, सुकेधारादेखि कलंकीसम्म सडकछेउछाउ फोहोर थुप्रिएको छ  । उपत्यकामा खोला करिडोरका क्षेत्रमा पनि फोहोर थुप्रिएको छ  । बागमती र धोबीखोला करिडोरमा फोहोरका डंगुरका साथै फोहोर भरिएका कन्टेनरसमेत पार्किङ गरेर राखिएको छ । रातोपुल, सेतोपुल, बिजुलीबजारस्थित धोबीखोला पुल, तीनकुनेस्थित बागमतीलगायत पुलमुनि फोहोर थुप्रिएको छ ।

ललितपुरको ग्वार्को, लगनखेल क्षेत्रमा पनि फोहोर थुप्रिएको छ  । सडकमा थुप्रिएको फोहोरलाई बर्खे पानीले बगाएपछि दुर्गन्ध फैलिएको छ भने सरुवा रोगको जोखिम बढेको छ । चिकित्सकहरूले हैजा फैलन सक्ने जोखिम रहेको बताएका छन् ।