Breaking

राप्रपा कार्यसम्पादन समिति बैठक आज बस्दै


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी, आवश्यक रणनीतिलगायत विषयमा बैठकमा छलफल हुनेछ । सोमबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो ।

आसन्न निर्वाचन, निर्वाचन तयारीका लागि विभिन्न समिति निर्माण, प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग सम्बन्धमा जारी आन्दोलनको समीक्षालगायत विषयमा आज छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठ बताउँछन् ।

उनले तेस्रो चरणको आन्दोलनको मोडालिटीबारे पनि आज छलफल हुने जानकारी दिए । गत शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटका क्रममा आगामी चुनावमा गठबन्धन गर्नेबारे छलफल भएको बताइएको छ ।