Breaking

करिश्मा मानन्धर लगातार विवादित


काठमाडौँ — यतिबेला करिश्माको चर्चा फिल्म र सौन्दर्यभन्दा सामाजिक विषयप्रति उनका विचारलाई लिएर भइरहेको छ । उनी लगातार विवादित भइरहेकी छन् । शुक्रबार उनले निहारिका राजपुतको अदालतमा विचाराधीन मुद्दाबारे आफ्नो दृष्टिकोणबाट केही शब्द लेखिन् । ‘अब उप्रान्त भोकोलाई खाना र नांगोलाई लुगाबाहेक रुपैयाँको सहयोग गर्न म सक्दिनँ ।

निहारिका आमा, बुवासँग माफी माग । बच्चालाई असर पार्छ । तिम्रो जीवनलाई असर पार्छ,’ करिश्माको टिप्पणी थियो । सोही स्टाटससँगै उनले निहारिकाका निजी तस्वीर पनि सेयर गरिन् । केही घण्टामै उनको अर्को टिप्पणी आयो( दूधको दूध, पानीको पानी होस् । हामी एटीएम कार्ड होइनौं, मानिस हौं ।’ शनिबार अर्को स्टाटस आयो– झूठो यति नजिक भएछ ।

सत्य नचिनेको बिरानो लाग्न थाल्यो ।’ अनि त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका पत्र पनि उनले सार्वजनिक गरिन् । बिन्दु चौधरी नामक एक फेसबुक प्रयोगकर्ता उनको स्टाटसमा टिप्पणी गर्छिन् फिल्मको हिरोइन नै ठीक छ, राजनीति सुहाएन ।’ उनीजस्ता अन्य प्रयोगकर्ताले पनि करिश्माको टिप्पणीबारे आ(आफ्ना धारणा राखिरहेका छन् ।