Breaking

बाबुरामको विचित्र रुप, फेरि प्रचण्डकै शरणमा, सातबर्षअघि यसरी छोडेको पार्टी फेरि प्यारो?


काठमाडौँ — नेकपा माओवादी केन्द्रकै चुनाव चिन्हमा निर्वाचनमा जाने गरि प्रचण्ड र बाबुराम भट्टराईबीच सहमति भएको छ । तर यस सहमतिले भट्टराईमाथि अनेक प्रश्न उब्जाएको छ । घुम्दै फिर्दै रम्जारटार भनेझैँ फेरि पनि बाबुराम भट्टराई माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’कै कित्तामा सामेल भएका छन् । यसपालीको कित्ताकाट भनेपार्टी त्याग वा प्रवेशको होइन, बरु माओवाद त्याग गरेको सात बर्षपछि माओवादीकै चुनाव चिन्ह हसिया हथौडाको मोहजालमा हो ।अब भट्टराईको पार्टी नेसपाले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह ‘गोलाकारभित्रको हसिया हथौडा’लाई बोकेर आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भएको छ ।

उसो त, बाबुराम भट्टराई र प्रचण्डबीच केही समययता निरन्तर भेटघाट र छलफल चलिरहेको छ । आइतबार प्रचण्ड निवास खुमलटारमा भएको छलफलपछि भने उनीहरुबीच एउटै चुनाव चिन्ह र एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने सहमति भएको हो । अब प्रचण्डका लागि बाबुरामले भोट माग्नेछन् भने बाबुरामका लागि पनि प्रचण्डले त्यसै गर्नेछन् ।तर बाबुरामका बारथरी तरिकाले भने सबैलाई चकित बनाइरहेको छ ।बाबुरामले २०७२ को असोज ३ गते संविधान जारी भएको छ दिनपछि माओवादी पार्टी त्याग गरेको घोषणा गरेका थिए। ‘चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने हो भन्दै

माओवादी सहितका पुराना दलको औचित्य सकिएको निष्कर्ष सहित वैकल्पिक राजनीतिको आवश्यकता देखाएर करिब आठ महिनापछि निकै तामझामका साथ ७३ सालको जेठ ३० गते नयाँ शक्ति नेपाल बनाए ।तर उनको वैकल्पिक शक्ति आफ्नै विकल्प खोज्ने गरि ‘फ्लप’ भएपछि करिब ३ बर्षपछि ७६ साल बैशाख २३ मा एकताका लागि संघीय समाजवादी फोरम रोजे ।एकतापछि बनेको समाजवादी पार्टी नेपाल पनि एकबर्ष टिक्न सकेन ।७७ को बैशाख १० गते राजपासहितको एकतामा जनता समाजवादी पार्टी बनाएर संघीय परिषद् अध्यक्ष बने । तर झण्डै दुईबर्षमा चरम द्वन्द्व चुलिएपछि आफ्नै पार्टीबाट निकालिए । अहिले उपेन्द्र यादवसँग छुट्टीएर नेपाल समाजवादी पार्टी बनाएका उनी पुनः माओवादी र यसका अध्यक्ष प्रचण्डकै शरणमा दाखिला भएका छन् । चरम निराशाबाट चलिरहेको बाबुराम यात्रा कहाँ रोकिन्छ ? अन्योलग्रस्त छ ।

कुनै बेला चुहिएको घर भनेको माओवादी अहिले बाबुरामका लागि ओत लाग्ने ठाउँ बनेको छ ।पार्टी छाड्दा मात्रै नभएर पछि पनि भट्टराई पुराना राजनीतिक दलका नीतिमाथि चर्काे आलोचना गर्दै आएका थिए ।उनको पार्टीका नेता कार्यकर्ता भने निरन्तर उनको साथ छोड्दै बाहिरिरहे । भर्खरै सम्पन्न स्थानिय तह निर्वाचनमा समेत बाबुराम आफ्नै गृहजिल्लामा नराम्ररी पछारिए । ११ स्थानीय तहमध्ये माओवादीले ९ र काँग्रेसले दुई पालिका जितेपछि शून्यमा झरेका उनी प्रतिनिधिसभासमेत हार्ने डरले अहिले माओवादीसँग बास बस्न खोजिरहेका छन् । यसो गर्दा प्रचण्डलाई भोलि देउवालाई दबाबमा राख्न बाबुरामले साथ दिनेछन् भने बाबुरामलाई समेत सुरक्षित रहन केही मद्दत मिल्ने छ । तर माओवादीबाटै प्रचण्ड–बाबुराम सहमतिप्रति नारायणकाजीले असन्तुष्टि जनाउन सक्छन् । किनकि गोरखाबाट नारायणकाजी आगामी संसदीय निर्वाचनमा चुनाव लड्ने तयारीमा छन् । यसो हुँदा बाबुरामले यहाँ पनि ठक्कर खानुपर्ने हुनसक्छ ।