काठमाडौँ — मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलबीच भागबण्डाको चटारो छ । सरकार र गठबन्धनको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सबैको मन बुझाउनुपर्ने दायित्व पनि छ । तर आफ्नै पार्टीको शेखर समूहले अन्तरद्धन्द्ध चर्काएपछि देउवा थप संकटमा परेका छन् । नेपाली काँग्रेसको हातमा सत्ताको चाँबी छ, भागबण्डाको चालक सिटमा पनि नेपाली काँग्रेस नै छ,तर नेपाली काँग्रेसभित्र नै भागबण्डाको भाँडभैलो छ ।
पार्टी र सरकार सञ्चालनको मोर्चामा इतर समूहको अस्तित्वलाई स्वीकार नगरी प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै शेखर समूहले ४० प्रतिशतको हिस्सा दाबी गरेको छ । अबदेउवालाई ‘शिरमा टोपी छैन, खुट्टामा खोल’ जस्तो भएको छ । किनकि गठबन्धनमा सहभागी पाँच दल र गठबन्धनमै सामेल हुन खोजिरहेका तीन दलको व्यवस्थापन र बाँडफाँड मिलाउने जिम्मा पनि देउवाकै काँधमा छ । तर आफ्नै पार्टीको असन्तुष्ट समूहलाई भाग पु¥याएर जान देउवाकालागि दबाबपूर्ण छ ।
पाँच दलीय गठबन्धनमा सिटबाँडफाँडको गृहकार्य चलिरहेका बेला शेखर समूहले ४० प्रतिशतको मागदाबी गरेको हो । पार्टीको १४ औं महाधिवेशनमा देउवासँगै भिडेका शेखरले ४० प्रतिशतभन्दा बढी कार्यकर्ताको मत पाएकै कारणबाँडफाँडमा समेत सोही बमोजिमको हिस्सा पाउनु पर्ने उनीहरुको दाबी छ ।यसका लागि गठबन्धनबाटै ६० प्रतिशत हिस्सा काँग्रेस एक्लैले पाउने गरि भागबण्डा गर्न शेखर समूहले देउवालाई दबाब दिइरहेको छ ।
यस्तो नीतिका पछाडी आगामी निर्वाचनपछि पनि देउवाले आफु नै प्रधानमन्त्री हुने गरि टिकट वितरणमा एकलौटी गर्छन भन्ने मनोविज्ञान काँग्रेसमा देखापरेको छ ।त्यसको अवरोधका लागि शेखर समूहका पदाधिकारी शनिबार बालुवाटारको कोठे बैठकमा व्यस्त थिए । युवा नेताहरुको बैठक बत्तिसपुतलीमा बसेको थियो । लगातार केहीदिनदेखि गुटगत भेला चलाइरहेको यो समूहले देउवाबाट पक्का मनोमानी हुने निष्कर्ष निकालेपछि आफ्नो समूहको धारणा राख्न देउवासँग समय माग गरेको थियो । तर व्यस्तताको कारण देखाएर देउवाले शेखरलाई समय नदिएपछि तिक्तता झनै चुलिएको छ ।
देउवाले चाहेकोभन्दा अर्काे व्यक्तिले टिकट नपाउने गरि शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले अधिकार दिएको छ । अब देउवाको हस्ताक्षर बिना रुख चिन्हबाट टिकट पाउने सम्भावना छैन । यसका लागि देउवालाई रिझाउनु बाहेक अर्काे विकल्प नभएकोसमेत नेताहरु बताउँछन् । गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका बर्षमान पुनदेखि, एकीकृत समाजवादीका रामकुमारी झाँक्री र वहालवाला मन्त्री मेटमणि चौधरी जस्ता नेताहरु टिकटकै लागि देउवाको खुलेआम तारिफमा लागिपरेका छन् ।
तर काँग्रेसभित्रकै शेखर समूहका नेताहरु देउवालाई घुर्काएर टिकट खिच्ने दाउमा लागिपरेका छन् । पाँच दलीय गठबन्धनमा काँग्रेसको माग झण्डै एक सय सिट भएपनि ८० सिटसम्म सहमति हुने देखिन्छ । तर अन्य चार दलले त्यो भन्दा पनि कम दिएर तालमेल गर्न खोजिरहेका छन् ।त्यसबाहेक लोसपा र नेसपासहित बामदेव गौतमको पार्टीसमेत गठबन्धनमा सामेल भए भागबण्डा झनै असहज हुनेछ । यस्तो बेला देउवालाई गठबन्धनमा जसोतसो सहमति जुटाएपनि पार्टीभित्र निकै दबाब झेल्नुपर्नेछ ।


प्रतिक्रिया