Breaking

लोकतान्त्रिक शेर्पा संघको वरिष्ठ उपाध्यक्षमा आङ काजी शेर्पा


काठमाडौँ – नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा आङ काजी शेर्पा सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपाएमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न महाधिवेशनबाट सोलुदुधकुण्ड नगरपालिकाका मेयरका प्रत्याशी तथा योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पा निर्विरोध चयन हुनु भएको हो ।

शेर्पा झण्डै १० वर्ष नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय नेपाली काँग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिसमेत रहेका शेर्पा गत वैशाख ५ गते नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । काँग्रेसको गत महाधिवेशनमा सर्वाधिक मतल्याई उहाँ महाधिवेशन प्रतिनिधि बन्नु भएको थियो ।

सोलुखुम्बु जिल्लामा लोकप्रिय नेताको हैसियत बनाएका आङ काजी लगायत सयौँको संख्यामा नेता तथा कार्यकर्ता नेपाली काँग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओली सोलु पुगेर शेर्पासहितलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

लगत्तै एमालेले उहाँलाई मेयरको टिकट दिएको थियो । स्थानीयतहको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाका मेयरका प्रत्याशी शेर्पा नेपाली काँग्रेसका उम्मेदजारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

आङ काजी शेर्पा समाजसेवी तथा निर्माण व्यवसायमा अग्रपंक्तिमा हुनुहुन्छ । बौद्धमार्गीहरूको सामुदायिक संगठन शेर्पा सेवा केन्द्रका वर्तमान महासचिव हुनुहुन्छ । उहाँ सफल व्यवसायी समेत हुनुहुन्छ । पर्यटन र होटल व्यवसायमा आङ काजी शेर्पा सुपरिचित नाम हो । उहाँले करिव एक दशकनिर्माण व्यवसायीको रुपमा समेत कामगर्नुभएको छ ।

ओखलढुंगा–सोलु सडक कालोपत्रे शेर्पाले नै गर्नुभएको हो । हालउहाँ नेपालकै पाँचौ एचडी योहो टेलिभिजनका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ गाउँमै कृषिउ पार्जन र उद्योग सञ्चालन गरी गाउँलाई विकासमा रुपान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुनुहुन्छ । उहाँले जन्मस्थान केरुङमा ७ सय रोपनीभन्दा बढि जमिनमा ओखर, किबी र स्याउ खेती, बाख्रा पालन, भैँसी पालनदेखि कुखुरा पालनसम्मका करोडौँ रुपैयाँ लगानीमा फार्म सञ्चालन गरि युवालाई गाउँमै रोजगार दिनुभएको छ ।

गाउँमै मिनरल वाटरको उद्योग, इट्टाउद्योग सञ्चालनका लागि समेत तयारी गरिरहनु भएको छ । गाउँ विकास भएमा मात्रै देश विकास हुने उहाँ बताउनु हुन्छ । उहाँले लोकतान्त्रिक शेर्पा संघमार्फत समुदायभित्र राजनीतिक सचेतना जगाउनुका साथै हक अधिकार प्राप्तीका लागि पार्टीगत रुपमा पहल गर्ने बताउनु भएको छ ।

उहाँले दुरदराजमा रहेका शेर्पाहरूमा राजनीतिक सचेतना वृद्धि र शेर्पा समुदायलाई राजनीति प्रतिनिधित्व र अधिकार प्राप्तीका लागि संघमार्फत पहल गर्ने बताउनुभयो ।

हिमाल आरोहण मार्फत विश्व चर्चित रहेको शेर्पा समुदायले पछिल्लो समय राजनीतिक क्षेत्रमा समेत सक्रियता बढाएको देखिन्छ । संघले शेर्पा जातीको हकहित र अधिकारको मुद्धा उठाउँदै आएको छ । शेर्पा जातीको धर्म,भाषा,कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको काम गर्दै आएको छ ।