समाचार

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु


काठमाडौँ – सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका ५ रंजितपुरमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका प्रहीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

यसैबीच, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ पिपलबोटमा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् । घाइते भएका मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका १० का ३६ वर्षीय राजन सराफ र पछाडी सवार २७ वर्षीय नवनित शाहीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

बाराबाट हेटौडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख १७८९ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २ ०३ ०१२ प १९९८ नम्बरको मोटरसाइकललाई हिजो साँझ पौने ६ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।