काठमाडौँ — प्रतिनिधि सभाको आजको बैठक सांसद्हरुले जनसरोकारको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद्हरुले बाढी पहिरो, विकास निर्माणदेखि निर्वाचन सम्बन्धी ऐन निर्माणसम्मको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् । सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने क्रममा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद चौधरीले देशमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था नाजुक अवस्थामा पुगेको बताए । उनले बालबालिकाले गुणस्तरीय शिक्षा लिन नपाएको तथा बालबालिका कुपोषणको सिकार भइराखेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उहाँले कक्षा एकमा भर्ना भएदेखि एसइई परिक्षा सम्ममा ६ लाख विद्यार्थीहरु हराइरहेको भन्दै त्यसतर्फ पनि सरकार गम्भिर हुनुपर्ने बताए । प्रतिनिधि सभा सदस्य दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराइन् ।
प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले सरकारले तत्काल निर्वाचन सम्बन्धी ऐन ल्याउनुपर्ने बताए । उनले निर्वाचन घोषणा गरेसँगै प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा वहश उठेको भन्दै प्रतिनिधि सभाको कार्यअवधिको सम्बन्धमा पनि ऐन आवश्यक रहेको उल्लेख गरे । प्रतिनिधि सभा सदस्य नविना लामाले मनोहरा खोलाको बाढीले सुकुम्वासी बस्ती डुबानमा परेको भन्दै पीडितलाई राहत तथा पुर्नस्थापना गर्न सरकार सँग माग गरिन् ।
प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली स्नेहीले त्रिभूवन विश्वविद्यालयले प्रश्नपत्र दोहो¥याएको सम्बन्धमा छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरको भन्दै त्रिविको उपकुलपति र रजिष्ट्रारलाई कारबाही गर्न माग गरे । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले निर्वाचनमा गठबन्धन गर्ने दलहरुलाई एउटै घोषणापत्र जारी गराउने र निर्वाचन चिन्हपनि एउटै पाउने व्यवस्थाको लागि निर्देशन हुनुपर्ने बताए । उनले जनताको सुरक्षाका लागि उपत्यकाका आवास क्षेत्रहरुमा बाह्र तथा चौध पाङ्ग्रे भारी गाडीहरु तत्काल बन्द गर्नुपर्ने बताए ।


प्रतिक्रिया