काठमाडौँ — हिमालय एअरलाइन्सले चीनको छिङदाओ (सिङ्ताओ) का लागि चार्टर्ड उडान गरेको छ । एयरलाइन्सले मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि चीनको छिङदाओ जाने एक विशेष कूटनीतिक चार्टर्ड उडान गरेको हो । परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११स्०७ बजे उडान गरेको थियो ।
उक्त विमान छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान ७:५५ मा अवतरण गरेको छ ।छिङदाओको दुई दिने औपचारिक भ्रमणपछि भोलि (बिहीबार) अपरान्ह्र ३ बजे उक्त चार्टर्ड विमान काठमाडौंका लागि उड्ने एयरलाइन्सले जनाएको छ ।
सन् २०२० मा फैलिएको कोभिड१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाइ यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रूपमा एउटा उडानका साथ सेवा सुरू गरेको थियो । काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको हो ।


प्रतिक्रिया