काठमाडौँ – चीनमा नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसले अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा ३५ मानिसहरूलाई संक्रमित गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पूर्वी चीनमा ज्वरोका बिरामीहरूको स्वाब नमुनामा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्स ले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार संक्रमित मानिसहरू जनावरको सम्पर्कमा रहेका थिए ।
अध्ययनमा संलग्न अधिकारीहरूले भर्खरै पत्ता लागेको हेनिपाभाइरस जनावरहरूबाट फैलिएको हुन सक्ने आशंका गरेका छन् । संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिएका छन् ।
हेनिपाभाइरसले जनावर र मानिसमा गम्भीर रोग निम्त्याउन सक्ने बताइएको छ । हेनिपाभाइरसविरुद्ध हाल कुनै खोप वा उपचार छैन । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस पनि पहिलोपटक चीनको वुहानमा भेटिएको थियो ।
प्रतिक्रिया