समाचार

मिटरब्याजीका आरोपी चौधरीलाई पठाइयो सर्लाही


काठमाडौँ – मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मंगलबा जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो ।

ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा पठाएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी) ले जनाएको हो ।

सर्लाहीमा चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको रौनियारमाथि आरोप छ । यही आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधअनुसार उनलाई सर्लाही पठाइएको हो । सर्लाही पुर्याइएका रौनियारलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई ठगी गरेको गुनासो बढ्दै आएको थियो । यस्ता गुनासोमा प्रहरीमा उजुरी नै परेपछि लामो समय भारतमा लुकेर बस्दै आएका रौनियार यसपालि पक्राउ परेका हुन् ।

सीमावर्ती भारतका आफन्तकहाँ बस्दै आएका रौनियार सर्लाही नगएर महोत्तरीको गौशालाबजार पुगेका थिए । गौशालाबाट प्रहरीले नियन्त्रणमा लिई घटना अनुसन्धान गरिरहेकै बीच जिल्ला प्रहरी कार्यालय सर्लाहीले माग गरेपछि रौैनियारलाई उता पठाइएको हो ।