काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली घण्टौँ भाषण गर्ने सामर्थ्य राख्छन् । तर, मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले बोल्न थालेपछि कार्यक्रममा सहभागीहरू खाजा खानतिर लागेपछि उनले आफ्नो भाषण २० मिनेटमै टुङ्ग्याए । विश्व सामुदायीक वन दिवसका अवसरमा सामुदायीक वन उपभोक्ता महासंघले काठमाडौंमा गरेको कार्यक्रममा वन उपभोक्ता महासंघका पदाधिकारी, पुर्व पदाधिकारी र वनमन्त्री प्रदीप यादवले बोलेपछि प्रमुख अतिथिका रुपमा अध्यक्ष ओलीलाई आयोजकले बोल्न समय दिएका थिए ।
तर ओलीले बोल्न सुरु हुनासाथ सहभागीहरू कार्यक्रम लामो भएको भन्दै होहल्लासहित खाजा खान थालेपछि एकछिन ओली समेत छक्क परेका थिए । एकछिन बोल्न रोकिएका ओलीले दर्शक दीर्घमा हेर्दै के भएको भनेर जिज्ञासा राखेका थिए । ओलीको जिज्ञासामा आयोजकमध्ये कसैले ‘कार्यक्रम लामो भयो, भोक लाग्यो भन्दै सहभागीहरू उठेको’ जनाउ दिए । त्यसपछि ओलीले शान्त हुन आग्रह पनि गरे । तर ओलीको आग्रह सवैले सुनेन् । तैपनि ओलीले आफ्नो मन्तव्य जारी राखे ।
ओली बोल्न थालेको करिव २० मिनेटसम्ममा उनले वनपैदावार र त्यसबाट हुने फाइदाबारे व्याख्या गरे । त्यतिसम्म पनि हल्ला नरोकिएपछि र सहभागीहरू खाजातिरै केन्द्रीत भएपछि ओलीले कार्यक्रम लामो हुँदा धेरैलाई पट्यार लाग्न सक्ने भन्दै आफ्नो मन्तव्य सकाएको घोषणा गर्दै कार्यक्रममा सम्मानित भएकाहरुलाई बधाई ज्ञापन गरे ।
प्राय यस्ता सार्वजनिक कार्यक्रममा राजनीतिलाई छोएर भाषण गर्ने ओलीले मंगलबारको कार्यक्रममा कुनैपनि राजनीतिक शब्द समेत उच्चारण गरेनन् । बरु ओलीले वनस्पति विनाको मानव जीवन कल्पना गर्न नसकिने बताए । ‘वनस्पति विनाको मानव जीवन कल्पना गर्न पनि सकिदैन । वनस्पति अभावमा अक्सिजन न्युन हुँदैजान्छ । अक्सिजन नहुँदा जलचर, थलचर, उभयचर पनि मान्दैनन्’, ओलीको भनाइ छ ।


प्रतिक्रिया